कसरी गर्ने शिशु र सुत्केरीको हेरचाह ?

गृहपृष्ठ विचार/ब्लग हेडलाइन्स

जन्मेको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था भनिन्छ । शिशु जन्मनु प्राकृतिक प्रक्रिया हो । तर, यो अवस्था आमा र शिशुका लागि जीवन र मृत्यु दोसाँधको अवस्था हो । स्याहारकर्ता वा सहयोगीको सानो गल्तीले आमा र शिशुको मृत्यु हुने तथा जीवनभरका लागि अपाङ्ग हुने सम्भावना हुन्छ । त्यसैले नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाका लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसूति केन्द्र/अस्पतालमा दक्ष प्रसूति स्वास्थ्यकर्मीद्वारा प्रसूति गराउनुपर्छ । यसले गर्दा प्राकृतिक अवस्थामा सुत्केरी गराउन नसकेमा, विभिन्न वैकल्पिक तरिकाबाट आमा र शिशुलाई बचाउन सकिन्छ ।

कस्ताे शिशु स्वस्थ हाे ?  

जन्मको बेलामा नवजात शिशुको सामान्य तौल २५०० ग्राम वा सोभन्दा माथि मानिन्छ । जन्मिनेबित्तिकै रुन्छ, आफैँ सास फेर्छ । आफैँ दूध चुस्न खोज्छ र सजिलै निल्छ । नाभी र साल जोडिएको हुन्छ । बास्नाले आमालाई चिन्छ र गर्भमा सुनेको आवाजलाई पछ्याउँछ । हातखट्टा सजिलै चलाउन सक्छ । असजिलो भएमा चलमलाउने र रुने गर्छ । 

यस्ताे हुन्छ स्वस्थ आमाको अवस्था 

नियन्त्रित रूपमा रक्तस्राव भइरहेको हुन्छ । बच्चा जन्माउने क्रममा रगत खेर गएको हुनाले कमजोरी महसुस हुन्छ । स्तनबाट दूध आउन थाल्छ । शक्ति खर्च भएका हुनाले भोक धेरै लाग्छ । नेपाल सरकारले तोकेका प्रसूति संस्थामा निःशुल्क प्रसूति गराउने व्यवस्थासहित निम्न कार्य गर्न सुझाइएको छः

  • सुरक्षित जन्म गराउने, जन्मनासाथ नवजात शिशुलाई सफा तथा नरम कपडाले पुछ्ने र न्यानो हुने गरी लुगाले बेर्नुपर्छ । 
  • ताैल लिने र वजन कम (२.५ किलोभन्दा कम) भएको शिशुलाई विशेष प्रकारले न्यानो ‘मायाको अँगालो’ (Kangaroo Care) मा आमा वा बुबाको सहयोगमा राख्नुपर्छ ।
  • यो तरिका महिला स्वास्थ्य स्वयम्सेविका वा स्वास्थ्य संस्थाबाट सिक्न सकिन्छ । यो तरिका शिशुको तौल सामान्य नहुञ्जेल जारी राखिन्छ ।
  • जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई पहिलो बिगौती दूध खुवाउन सुझाव र तरिका सिकाउनुपर्छ ।
  • शिशुको नाइटो सफा राख्न र स्वास्थ्यकर्मी वा महिला स्वास्थ्य स्वयम्‌सेविकाले आवश्यक सेवा र सल्लाह दिनुपर्छ ।
  • संस्थागत सुत्केरी हुने महिलालाई नेपाल सरकारबाट सुत्केरी भत्ताको पनि व्यवस्था छ । यसको विस्तृत जानकारीको लागि स्वास्थ्यकर्मी वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

सुत्केरी र नवजात शिशुको स्याहारमा परिवारको भूमिका

  • सुत्केरी र नवजात शिशुका लागि सुरक्षित सफा ओढ्ने, ओछ्यान र मलमलजस्तै नरम कपडा वा पुरानो सफा कपडाको व्यवस्था गर्नुपर्छ । 
  • नवजात शिशुलाई आमाको बिगौती दूध जतिसक्दो छिटो, जन्मेको १ घण्टाभित्रै खुवाउनुपर्छ ।
  • बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दूध आउन थाल्छ । आमाकै दूधमा पर्याप्त पानीको मात्रा र सबै पोषक तत्त्वहरू हुने भएकाले शिशुलाई आमाको दूधबाहेक केही पनि खुवाउनु पर्दैन ।
  • सङ्क्रमणबाट जोगाउन नाभीमा नाभी मलमबाहेक अरू केही पनि नलगाई सुक्खा र सफा राख्नुपर्छ ।
  • सुत्केरी आमालाई पहिला तातो झोल, पेय पदार्थ र अन्य खानेकुरा खुवाउनुपर्छ ।

सुत्केरी आमालाई निम्न खाद्य समूहका कम्तीमा ५ समूहबाट साधारण अवस्थाभन्दा थप २ पटक खाना खुवाउनुपर्छ ।
दाल तथा गेडागुडी

बदाम तथा बीज

दूध तथा दुग्धजन्य पदार्थ

माछामासु

अण्डा

हरियो सागपात

भिटामिन ‘ए’युक्त तरकारी तथा फलफूल

अन्य तरकारी

अन्य फलफूल ।

शल्यक्रिया (अप्रेसन) वा अन्य समस्यासहित जन्मेको शिशु छ भने पोषणविद् वा स्वास्थ्यकर्मीको सल्लाहअनुरुप आमालाई खाना खुवाउनुपर्छ । यस समयमा व्यक्तिगत र वातावरणीय सरसफाइ राख्न श्रीमान् र परिवारले आवश्यक सहयोग गर्नुपर्छ । नवजात शिशुलाई २४ घण्टासम्म नुहाइदिनु हुँदैन, किनकि यसो गरेमा शिशुलाई शिताङ्ग हुन सक्छ । दोस्रो हप्तादेखि मौसमअनुसार स्वस्थ शिशुलाई (मन तातोपानीले) हप्तामा दुईपटक नुहाइदिन सुझाव दिइएको छ । तर अस्वस्थ, कम तौलको शिशुलाई नुहाएमा समस्या आउने हुनाले स्वास्थ्यकर्मीको सल्लाहबमोजिम मात्रै नुहाइदिनुपर्छ ।

सुत्केरी आमाको घाउ तथा पाठेघरलाई निको पार्न र पहिलेको अवस्थामा आउनका लागि पर्याप्त आराम आवश्यक हुन्छ। नवजात शिशुलाई बाहिरी तापक्रम, वातावरण र खाना आदि समायोजन गर्नका लागि परिवारले उचित वातावरण मिलाउनुपर्छ ।

हाम्रो समुदायमा चलिआएका सकारात्मक चलनहरू

  • शिशुलाई तेल मालिस गर्ने, निदौरी गाउने उपयुक्त उत्प्रेरणामुखी क्रियाकलाप हो । यस क्रियाकलापलाई निरन्तरता दिनुपर्छ ।
  • परम्पराअनुसार गरिने छैठी, न्वारन, पास्नी आदिले बालबालिकालाई सम्मान तथा परिवारमा बालबालिकाको विशेष महत्त्व दिन्छ ।
  • सुत्केरी बार्नाले शिशुलाई आमाको तातोपना, माया ममताको अवसर दिन्छ । सुतक बार्नु भनेको घरपरिवारमा धार्मिक कार्यभन्दा बालबालिका ठूलो हो, त्यसैले सत्केरीको घरमा सघाउन जाऊँ भनेको हो भन्ने बुझ्नुपर्छ ।

सुत्केरी आमालाई माया, आराम र शान्ति भए, दूध उत्पादनका लागि आवश्यक हर्मोन बन्नका लागि सहयोग गर्छ, त्यसैले परिवारको सहयोग र समय चाहिन्छ । शिशुलाई आमाबुबासँग टाँसेर राख्नुपर्छ । छालाको स्पर्श तथा मुटुको धड्कनको आवाजले आमाबुबासँग शिशुको आत्मीयता बढाउन र सुरक्षित महसुस गराउँछ । आमाबुबा दुवैले शिशु स्याहार गर्दा आफूहरू र शिशुबीचको सम्बन्ध अत्यन्त महत्त्वपूर्ण भएको अभिव्यक्त गर्नुपर्छ ।

नवजात अवस्थामा शिशुको ज्ञानेन्द्रिय धेरै सक्रिय हुन्छ । यस समयमा उनीहरूलाई हेरेर, छोएर, मसिनो आवाज सुन्ने, सुघ्ने उपयुक्त अवसर दिएर उत्प्रेरणा गर्नुपर्छ ।

नवजात शिशुको अनुहारमा हेर्दै उनीहरूको भावलाई समानुभूति गरेर कुरा गर्नुपर्छ, उनीहरूले निकालेको आवाजको उत्तर दिने, मधुर सङ्गीत बजाउने, सुमसुमाउने र विभिन्न आवाज सुनाउने, रङ्गीन खेलौनाहरू झुण्ड्याउनुपर्छ । स्वास्थ्य परीक्षणका लागि नवजात शिशु वा सुत्केरी आमा दुवैलाई सुत्केरी भएको पहिलो, तेस्रो र सातौँ दिन स्वास्थ्य परीक्षणका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

परिवार नियोजनका साधनका बारेमा श्रीमान्/श्रीमतीले छलफल गरी निर्णय लिनुपर्छ । दुई बच्चाबीच ३-५ वर्षको जन्मान्तर कायम गर्नुपर्छ । यसले आमाको स्वास्थ्यमा र शिशुको स्याहारमा सहयोग पुग्छ । नवजात शिशुको जन्मदर्ता जन्मेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गरिदिनुपर्छ ।

बाल स्वास्थ्य कार्डको प्रयोग

शिशु जन्मनासाथ स्वास्थ्य केन्द्र तथा अस्पतालबाट प्रदान गर्ने बाल स्वास्थ्य कार्डको प्रयोग गर्नुपर्छ । जसमा शिशुको जन्मना साथको तौल, लगाउनुपर्ने खोपको रेकर्ड, उमेरअनुसार शिशुलाई खुवाउनुपर्ने खानाको निर्देशिका राखिएको हुन्छ । यसमा मासिक तौल मापन तथा रेकर्ड गरेर मूल्याङ्कन गर्नुपर्छ । यसैगरी, कुन महिनामा कुन खोप लगाउने निर्देशन पनि राखिएको हुन्छ । सोअनुसार स्वास्थ्य केन्द्रमा सम्पर्क गरी खोपहरू दिनुपर्छ । पहिलो खोप (क्षयरोग विरुद्ध बिसिजी खोप) जन्मनेबित्तिकै लगाइदिनुपर्छ । नवजात शिशु वा सुत्केरीमा निम्न खतराका लक्षण/जटिलता भएको खण्डमा उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा तुरुन्तै लैजानुपर्छ ।

नवजात शिशु

  • छिटो छिटो सास फेरेमा (प्रति मिनेट ६० पटक वा सोभन्दा बढी)
  • कडा कोखा हानेमा
  • सुस्त, बेहोस वा कम चलेमा
  • आमाको दूध राम्ररी चुस्न नसकेमा
  • शिताङ्ग अथवा हात र खुट्टा छाम्दा चिसो भएमा
  • ज्वरो आएमा, निधार, काखी र पेट छाम्दा तातो भएमा
  • नाइटो पाकेको वा छालामा पिप भरिएका फोकाहरू भएमा

सुत्केरी

  •  ज्वरो आएमा 
  • योनीबाट गन्हाउने पानी बगेमा
  • तल्लो पेट (पाठेघर) दुखेमा
  • धेरै रगत बगेमा (२ वटाभन्दा बढी टालो पूरै भिजेमा वा चोक्टाचोक्टा रगत बगेमा ।
  • टाउको साह्रै दुखेमा
  • हातखुट्टा अररो भई मुर्च्छ परेमा ।

जान्नुपर्ने तथ्यहरू

शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाका लागि स्वास्थ्य केन्द्र, प्रसूति केन्द्र/अस्पतालमा दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति गराउनुपर्छ । जन्मेको २४ घण्टासम्म नवजात शिशुलाई नुहाइदिनु हुँदैन, किनकि यसो गरेमा शिशुलाई शिताङ्ग हुन सक्छ ।

शिशुलाई आमाको बिगौती दूध जतिसक्दो छिटो खुवाउनुपर्छ । बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दूध आउन थाल्छ । आमाकै दूधमा पर्याप्त पानीको मात्रा र सबै पोषक तत्त्वहरू हुने भएकाले शिशुलाई आमाको दूधबाहेक केही पनि खुवाउनु पर्दैन ।

सुत्केरी आमालाई १० खाद्य समूहमध्ये कम्तीमा ५ समूहबाट साधारण अवस्थाभन्दा थप २ पटक खाना खुवाउनुपर्छ ।

शिशु जन्मनासाथ स्वास्थ्य केन्द्र तथा अस्पतालबाट प्रदान गर्ने बाल स्वास्थ्य कार्डको प्रयोग गर्नुपर्छ । यसमा शिशुको जन्मनासाथको तौल, लगाउनुपर्ने खोपको रेकर्ड, उमेरअनुसार शिशुलाई खुवाउनुपर्ने खानाको निर्देशिका राखिएको हुन्छ ।

नवजात शिशु वा सुत्केरीमा खतराका लक्षण/जटिलता भएको खण्डमा उपचारका लागि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ । 

यो सामग्री युनिसेफको सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रकाशित गरेको ‘अभिभावक शिक्षा’ पुस्तकको सहयोगमा शिलापत्रले तयार गरेको हो ।

प्रकाशित मितिः २०८२ भाद्र २० गते, बिहान ५ः५५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *