हामीमध्ये धेरैलाई पकौडा, समोसा र बर्गर जस्ता परिकार अत्यन्तै मन पर्छन् । तर, हामी प्रायः सुनिरहन्छौँ कि यस्ता खानेकुराको अत्यधिक सेवनले कोलेस्टेरोलको मात्रा बढाउन सक्छ । चिकित्सकहरूको भनाइमा, कोलेस्टेरोलको समस्या अहिले केवल वृद्धहरूमा मात्र होइन, युवाहरूमा पनि गम्भीर रूपमा देखिन थालेको छ । कम उमेरमै कोलेस्टेरोल बढ्नु, वृद्ध अवस्थामा बढेको कोलेस्टेरोलको तुलनामा अझै घातक हुन सक्छ
कोलेस्टेरोल भनेको के हो ?
कोलेस्टेरोल एक किसिमको बोसोयुक्त जेल-जस्तो पदार्थ हो, जुन लिपिड वर्गमा पर्दछ । यो शरीरको प्रत्येक कोशिकामा पाइन्छ र रगतमार्फत शरीरभरि फैलिन्छ । कोलेस्टेरोल कोशिकाको चारैतिर एक किसिमको सुरक्षात्मक तह बनाउँछ । साथै, केही महत्त्वपूर्ण हर्मोन निर्माणमा समेत यसको योगदान हुन्छ । शरीरमा रहेका कुल कोलेस्टेरोलमध्ये झण्डै ८० प्रतिशत भाग लिभरले बनाउँछ ।कोलेस्टेरोल कहिले हानिकारक हुन्छ ?
कोलेस्टेरोल मुख्यतः दुई प्रकारका हुन्छन्: ।
१) एचडीएल (HDL – High Density Lipoprotein): राम्रो कोलेस्टेरोल
२) एलडीएल (LDL – Low Density Lipoprotein): नराम्रो कोलेस्टेरोल
एचडीएल बिना अवरोध रगतमा बग्न सक्छ, तर एलडीएलको मात्रा बढी भएमा यो रगतनलीमा चिप्लिने र प्लाक (थोप्ला) बनाउने सम्भावना हुन्छ । यो प्लाक लामो समयसम्म जमिरहेमा रक्तसञ्चारमा अवरोध आउँछ, जसले मुटु वा मस्तिष्कसम्म अक्सिजन नपुग्ने र हृदयाघात वा स्ट्रोकको खतरा बढाउँछ ।
कोलेस्टेरोल किन बढ्छ ?
शरीरमा कोलेस्टेरोलको स्तरलाई धेरै कुराहरूले असर गर्न सक्छ । जस्तै : उमेर, औषधिको सेवन वा कुनै विद्यमान स्वास्थ्य समस्या । यसका अतिरिक्त, जीवनशैली, दैनिक दिनचर्या र खानपानले पनि कोलेस्ट्रोलको अवस्था निर्धारण गर्छ । यो कुरा तपाईं शारीरिक रूपमा कत्तिको सक्रिय हुनुहुन्छ भन्ने कुरासँग पनि प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ ।
दिल्लीस्थित फोर्टिस एस्कार्ट्स अस्पतालका हृदय रोग विशेषज्ञ डा. विवुध प्रताप सिंहका अनुसार अल्ट्रा–प्रोसेस्ड फुड्स र ट्रान्स फ्याट कोलेस्टेरोलको मात्रा बढाउने प्रमुख कारक हुन् । उनी भन्छन्, ‘हामी यहाँ प्याकेटमा पाइने स्न्याक्स र बेकरी प्रोडक्ट्सको कुरा गर्दै छौँ, जसमा कृत्रिम बोसो (आर्टिफिसियल फ्याट) प्रयोग गरिएको हुन्छ । यस्ता परिकारहरू बारम्बार प्रयोग गरिएको तेलमा पकाइएका हुन सक्छन् वा तीनमा अत्यधिक नुन र चिनी प्रयोग गरिएको हुन्छ ।’
उनले थप स्पष्ट पारे, ‘साथसाथै, अत्यधिक प्रशोधित कार्बोहाइड्रेट जस्तै मैदा पनि त्याग गर्नु आवश्यक हुन्छ । यस्ता चीजहरूमा एन्टिअक्सिडेन्टको मात्रा न्यून हुन्छ र त्यसले एलडीएल (नराम्रो) कोलेस्ट्रोल बढाउँछन् । साथै, अल्ट्रा–प्रोसेस्ड फुड्सले प्रायः तौल बढाउने र शरीरमा सूजन ल्याउने गर्छन्, जसले मुटुरोगको खतरा अझ बढाउँछ ।’
त्यसैगरी, क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूको एउटा टिमले सार्वजनिक गरेको अध्ययनमा उल्लेख गरिएअनुसार, कम उमेरमै कोलेस्ट्रोलको मात्रा बढी हुनु अझ खतरनाक हुन सक्छ ।
कोलेस्टेरोल घटाउने उपायहरू :
तपाईं जति धेरै शारीरिक रूपमा सक्रिय रहनुहुन्छ, तपाईंको मांसपेशीहरूले त्यति नै धेरै बोसोलाई ऊर्जाका रूपमा प्रयोग गर्छन् । यसको अर्थ शरीरमा सैचुरेटेड फ्याट (पूर्ण बोसो) को मात्रा घट्छ, जसले रक्तनलीमा प्लाक जम्न दिँदैन र हृदयाघात वा स्ट्रोकको जोखिम घटाउँछ ।
स्वस्थ मुटुका लागि केही जीवनशैली अपनाउन जरुरी हुन्छ ।
जस्तै:
धुमपान नगर्नु
तौल नियन्त्रणमा राख्नु
मदिरा सेवन सीमित गर्नु
सैचुरेटेड फ्याट, ट्रान्स फ्याट र प्रोसेस्ड फुडबाट टाढा रहनु
धेरैजसो अनुसन्धानहरूले देखाएका छन् कि सन्तुलित आहारले कोलेस्टेरोल नियन्त्रणमा सहयोग पुर्याउँछ ।
खानामा फाइबरको मात्रा अत्यावश्यक हुन्छ । फाइबर आन्द्राभित्र गएर जेल-जस्तो तह बनाउँछ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र कोलेस्ट्रोल घटाउन सहयोग गर्छ ।
यसका अतिरिक्त, केही प्रकारका प्रोटिनहरू पनि लाभदायक हुन सक्छन् । कुल मिलाएर हेर्दा, तपाईंले आफ्नो खानामा फाइबरको मात्रा बढाउनुभयो भने कोलेस्टेरोलको स्तर सन्तुलित राख्न सकिन्छ । फलफूल र तरकारीहरूमा प्रशस्त फाइबर पाइन्छ ।
पानीको भूमिका
शरीरमा पानी र तरल पदार्थको कमीले धेरै प्रकारका स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यो विशेषगरी मुटु र रक्तसञ्चार प्रणालीका लागि हानिकारक हुन सक्छ । जब शरीर डिहाइड्रेट हुन्छ (पानीको कमी हुन्छ), तब रगतको प्रवाह सुस्त बन्छ ।
यसका कारण लो ब्लड प्रेसर, चक्कर लाग्ने, वा बेहोस हुने अवस्था समेत आउन सक्छ ।
यस्तो अवस्थामा रगत पम्प गर्न मुटुले बढी मिहिनेत गर्नुपर्छ, जसले गर्दा मुटुको धड्कन तेज हुन्छ र प्याल्पिटेसन (धड्कन असामान्य महसुस हुने) हुन सक्छ । डिहाइड्रेसनले रगत गाढा बनाउँछ, जसले रक्त थक्का (ब्लड क्लट) जम्ने सम्भावना बढाउँछ र हृदयघातको जोखिम पनि बढ्न सक्छ । त्यसैले, मुटुको संरक्षण गर्नु अत्यन्त आवश्यक हुन्छ । कहिलेकाहीँ केवल जीवनशैली परिवर्तन पर्याप्त हुँदैन । कतिपय अवस्थामा औषधिको सहारा पनि लिनुपर्ने हुन सक्छ । (यो सामग्री बीबीसी हिन्दीको सहयोगमा शिलापत्रले तयार पारेको हो ।)
प्रकाशित मितिः २०८२ भाद्र १६ गते, बिहान ७ः०२ बजे

