नेपाल स्वास्थ्य, गुल्मीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसाार लक्षित बालबालिकालाई लगाउनुपर्ने सम्पूर्ण खोपको मात्रा पूरा भएको सुनिश्चितता सहित स्वास्थ्य कार्यालय गुल्मीले तम्घासमा आयोजना गरेको एक समारोहकाबीच गुल्मीलाई पूर्णखोप जिल्ला घोषणा गरिएको हो। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप दिगोपना सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुख्य नारासहित जिल्ला समन्वय समिति गुल्मीका प्रमुख एवम् जिल्ला खोप समन्वय समिति गुल्मीका संयोजक द्रोण खत्रीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।
जिल्लामा १५ महिनासम्मका बच्चा दुई हजार ९३६ जना, १६ महिनादेखि २३ महिनासम्मका बालबालिका दुई हजार ९६५ जना र २४ महिनादेखि ५९ महिनासम्मका बालबालिका सात हजार ४०३ जनाले खोप पाएका छन्। कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले पूर्ण खोप जिल्ला घोषणाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०७१ चैत ३० गते गुल्मीलाई नेपालमै सातौं जिल्लाको रुपमा पूर्णखोप जिल्ला घोषणा गरिएको थियो।
प्रकाशित मिति: २०८२ असार २० गते, बिहान १०:२६ बजे

