दुध र दही: कति फाइदाजनक र कति हानिकारक

गृहपृष्ठ विचार/ब्लग

डा. ओममूर्ति अनिल

हाम्रो समाजमा दुधको बारेमा धेरै गलत धारणा भएको पाइन्छ । हाडजोर्नीको लागि क्याल्सियम (Calcium) को आपूर्ति गर्न प्रशस्त मात्रामा दुध खानेहरु धेरै छन् । प्राचिन कालदेखि नै दैनिक दुध खाने चलन भएको हामी सबैलाई थाहा भएकै कुरा हो । पोषणको दृष्टिकोणले हेर्ने हो भने दुधलाई एउटा पोषिलो खानाको रुपमा मान्न सकिन्छ ।

यसले पर्याप्त क्यालोरी प्रदान गर्छ, जसले हामीलाई शक्ति प्रदान गर्छ। बालबालिकाको शारीरिक विकासकोलागि प्रोटिन नभई नहुने कुरा हो। दूध प्रोटिनको धेरै राम्रो स्रोतको रुपमा मानिन्छ । बिरामीहरुलाई पनि प्रायप्त प्रोटिन र इनर्जी चाहिने भएकोले दुध खानु अत्यन्तै उपयोगी हुन्छ त्यसैले ईनर्जी र प्रोटिनको आवश्यकता भएमा दैनिक दुध खान मिल्छ । 

दुधका यी फाइदाहरु यसको एउटा पक्ष मात्रै हो । दुधका अनेक बेफाइदाहरु पनि छन् । विशेष गरी चिल्लो नझिकिएको दुधमा कोलेस्ट्रोल पर्याप्त मात्रामा हुन्छ । गाईको दुध भन्दा भैंसीको दुधमा झन बढी कोलेस्ट्रोल र क्यालोरी हुन्छ ।

एउटा स्वस्थ पुरुष वा महिलालाई थप क्यालोरी र कोलेस्ट्रोल दुबैको आवश्यकता हुँदैन । दुधको प्रयोग गरेमा कोलेस्ट्रोल बढ्ने र अनावश्यक क्यालोरीले मोटोपनाको सम्भावना पनि बढाउने हुनाले दुधको प्रयोग गर्नुपर्ने अवश्यकता नरहेको तथ्य बुझ्न सकिन्छ । 

दुधमा पाइने कोलेस्ट्रोलले रगतमा कोलेस्ट्रोलको मात्रा बढाएर मुटुरोग लगाउने सम्भावना बढाउँछ । त्यसकारण बढ्दो बालबालिकालाई छोडेर कसैले पनि फ्याट भएको दुध नै खानु जरुरी देखिदैन । कुपोषण भएका वा बिरामीहरुलाई दुध दिनु छुटै कुरा हो ।

लो फ्याट दुध (Low Fat Milk) जसमा फ्याटको मात्रा १-२ प्रतिशत भन्दा कम हुन्छ, नेपालमा सजिलैसँग नपाइने भएकोले चिल्लो (Fat) झिकेको दुध थोरै मात्रामा खानमिल्छ । तर मोटो मानिसले वा कोलेस्ट्रोल बढी भएको व्यक्तिले दुध नखाए राम्रो हुन्छ । चियामा पनि धेरै दुधको प्रयोग नगरे राम्रो हुन्छ । 

दुधबाट फ्याट (छालि, तर) भिकेर दही बनाएको खान मिल्छ । फ्याट वा गुलियो नभएको दहि स्वास्थ्यको लागि बरु राम्रो मानिन्छ । प्रतिदिन खानामा चिल्लो कम भएको सादा (गुलियो नभएको) दहि खानु राम्रो हुन्छ । यसले खानालाई स्वादिष्ट मात्रै होइन, स्वस्थकर पनि बनाउँछ । – नेशनल कार्डियाक सेन्टरबाट

प्रकाशित मितिः २०८१ असोज ४, राती ९ः०२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *