डा. सुरेन्द्र खनाल

म किन सोंच्छु,
त्यही एउटा बाटो!!
न सपना अल्झेका मेरा,
न बिपना फक्रेका सारा,
न कुनै संसार त्यो बाटोमा!!
अनि म किन सोंच्छु,
त्यो एउटा बाटो,
जहाँ पाइला हजार राखेँ,
हिँड्न कहिले सकिन,
अनि म किन सोंच्छु,
जहाँ म रमाउन सक्छु, हराउन सक्दिन!!
न मेरो गन्तव्य छ त्यो बाटोमा,
न सधै रमाउने पल नै छन् त्यो बाटोमा!!
म खाली किन टोलाउँछु,
त्यही सुनसान अँध्यारोमा,
जहाँ मैले आफैँलाई,
कहिले पनि भेट्टाउन सक्दिनँ !!
र म किन सोंच्छु,
त्यो एकान्त बाटो,
जहाँका मन्दिरमा भित्ता छैनन्,
जहाँका भगवानमा दर्शन छैन,
खाली एउटा अन्धकार थियो,
तर सायद अन्धकार नै मेरो,
सबै भन्दा ठूलो ऐना थियो,
अनि म किन रमाउँछु,
त्यही एकान्तको फेरमा,
जहाँ म आफैं त्यहाँ,
सधै कसैको छायाँमुनि थिएँ!!
न प्रगाढ प्रकृतिले छोपेको छ त्यो बाटो,
न कविहरुका गन्थनमा गुन्जिएको छ त्यो बाटो!
न होलिका रंगहरुमा डुबेका छन् पाइलाहरु,
र किन म अल्मलि रहन्छु ती खाल्डाहरुमा
जब बाटो आफैँले मलाई
हिँडिनरहन उत्प्रेरणा दिइरहेछ!!
समयले आफैँमा बालेको आगो,
म किन निभाउन सक्दिन,
जब मुसलधारे पानीले मलाई
निथ्रुक्क भिजाइरहेछ!!
कुहिरो पन्छाउँदै बस्छु,
म तिनै टाकुराहरुमा,
जसको पछाडी सायद मेरो स्वर्ग छ,
र सायद अन्धकार मात्रै नै छ,
तर म किन खोजिरहन्छु
सन्तोषको सास त्यही
नदेखिने कुहिरो पछाडीको दृश्यमा
जसमा अलिकती पनि निश्चितता छैन,
जसमा अलिकती पनि प्रेमभाव छैन।
हजार बाटा छोडी,
म किन लड्छु, लडिरहन्छु,
त्यही एउटा चिप्लो बाटोमा,
जहाँ जति म बिलाएपनि
जति चिप्लिएपनि, गिरेपनि
मलाई आफैंमा समाहित गर्न सक्दैन!!
प्रकाशित मितिः २०८० असार २७ गते, दिउँसो २ः३९ बजे

