असहाय बिरामीको लागि अझै नजिकको सारथी बन्नु छः बस्नेत (अन्तर्वार्ता)

अन्तर्वार्ता हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,

नेपालमा २०७२ बैशाखमा ठूलो भूकम्प गयो । भूकम्पबाट घाइते भई अंगभंग भएका तमाम पीडित बिरामीहरुलाई देखेर उनीहरुको पीडामा मल्हम लगाउने सोच लिएर मेडिकल पुनर्स्थापना संस्थाको स्थापना गरेका यूवा इन्जिनियर सम्राटसिंह बस्नेतको सोचाइले यतिबेला तमाम बिरामीलाई राहत दिएको छ । इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशनमा स्नातक गरेका बस्नेतले अस्पतालमा इन्जिनियरको रुपमा काम गर्दा यस्तो संस्थाको आवश्यकता महसुस नगरेका होइनन् तर यस संस्था स्थापनाको संयोग भूकम्पले जुराइदियो ।

काठमाण्डौंमा मेडिकल पुनर्स्थापना संस्था स्थापना गरी देशैभरका आर्थिक अवस्था न्यून भएका बिरामीहरुलाई यस संस्थामा स्वास्थ्यकर्मी सहितको व्यवस्था गरी आश्रय दिएका उनै बस्नेतसँग नेपाल स्वास्थ्य डटकमले कुरा गरेको छ । प्रस्तुत छ उहाँसँगको संवाद ।


मेडिकल पुनर्स्थापना संस्थामार्फत बिरामीको सेवामा लागिरहनु भएको छ । एउटा इन्जिनियर कसरी यो संस्थाको स्थापनामा जोडिनुभयो?
विगत २० वर्षदेखि मेडिकल इन्जिनियरको रुपमा काम गर्दे आइरहेको छु । यो सामाजिक सेवाको काम गर्दे गर्दा धेरै पटक विकट दुर्गम तथा पिछडिएको क्षेत्रमा स्वंयम् आफै गई काम गर्ने अवसर समेत प्राप्त गरें । त्यसैगरी काठमाण्डौंमा भएका ठूला संस्थाहरुमा पनि काम गरे । त्यहि बीचमा गरिब, दुःखी, असहाय बिरामीको गाइड गर्ने मान्छे नपाएर अकालमै ज्यान गुमाएको देखेपछि त्यसलाई हेरेर बस्न सकिनँ । एक किसिमले मलाई कुनै न कुनै माध्यमबाट उनीहरुको सहारा बन्नुपर्छ भन्ने लाग्यो ।

नेपालको राजधानी काठमाण्डौंमा बिरामीहरु अलपत्र परेको देख्दा मनमा पीडा र नरमाइलो लाग्यो । मन अधैर्य बन्यो । यस्ता तमाम बिरामीहरुमा केहि अंशमा भएपनि मल्हम लगाउन यो संस्थामार्फत पक्कै केहि गर्न सकिन्छ भन्ने लागेर यसको स्थापना गर्ने सोच आयो । र त्यहि अनुसार संस्थाको स्थापना हुन गयो ।


मेडिकल पुनर्स्थापना संस्थाले खासगरी कुन कुन काम गर्दछ?
मेडिकल पुनर्स्थापना संस्था खासगरी बिरामीको स्वास्थ्यलाभ गराउनतर्फ केन्द्रित रहन्छ । हामी बिरामीको हितको लागि काम गरिरहेका छौं । दुःखि गरिबको आँखामा आँशु हुदाँ, उहाँहरुको स्वास्थ्यमा चोट या बिरामी हुदाँ, उहाँहरु बेसहारा हुदाँ हामी उहाँहरुसँग नजिक रहेर काम गर्छो जसले गर्दा कयौं मानिसहरुलाई हामिप्रति भरोसा जागृत भएको छ ।
पैसाकै कारणले गर्दा छोराको आश मारेकी आमा, पैसाकै कारणले गर्दा श्रीमानको आश मारेकी श्रीमति, पैसाकै कारण बुबाको आश मारेको छोरा, अनि यस्तै कयौं उदाहरण बोकेका धेरैलाई हामिले गाउँ गाउँसम्म नै पुगेर सहयोग गरेका छौं ।

हामि मुख्यतया बिरामीको अपरेशन पछाडि घाउँमा डे«सिड्ड गर्ने, गाउँमा उपचार नपाएका बिरामीलाई काठमाण्डौं ल्याउने, बिरामीको समस्या अनुसार अस्पतालहरुसँग सहकार्य गर्ने, बिरामीको ठूलो ठूलो अपरेशनको लागि वा उपचारको लागि आर्थिक संकलन गर्ने, बिरामीको लागि अति महत्वपूर्ण आधारभूत आवश्यकता गास, बास तथा कपासको व्यवस्था गर्ने, बिरामीको लागि २४ सै घण्टा नर्स, फिजियोथेरापिष्ट लगायतका स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, बिरामीका लागि चाहिने औषधीको निःशुल्क व्यवस्थापन गर्ने लगायतका बिरामीसँग सम्बन्धित धेरै कार्य गरिरहेका छौं ।

यो संस्थासम्म बिरामीहरु कसरी आइपुग्छन्?
विगत १० वर्षदेखि मेडिकल पुर्नस्थापना संस्थाले गरिब तथा दुःखिहरुको उपचारमा निरन्तर सेवा गरिरहेको छ । अगाडीका दिनहरुमा हामिकोमा बिरामीहरु अस्पतालबाट रिफर भए । जुन बिरामी लामो समयसम्म काडमाण्डौंमा नै उपचार गरिरहनुपर्ने र स्वास्थ्यकर्मीको निगरानी आवश्यक पर्ने भएकाले हामिकोमा राख्ने गरेका थियौं । अहिलेको दिनहरुमा विभिन्न जिल्लाका अस्पतालहरु, विभिन्न जिल्लामा बस्ने समाजसेवीहरु, डाक्टर, नर्सिङहरु हाम्रोे सम्पर्कमा हुने हुदाँ उहाँहरुले नै हाम्रो संस्थामा पठाउनुहुन्छ या त आफै नै लिएर आउनुहुन्छ ।

कतिजना बिरामीलाई तपाइहरुले सेवा दिइरहनुभएको छ? स्वास्थ्यकर्मीको प्रबन्ध कसरी गर्नुहुन्छ?
काठमाण्डौंको चन्डोलस्थित एरियामा २० शैयाबाट हामिले सेवा दिइरहेका छौं । एक पटकमा हामिले हाम्रो संस्थाको आर्थिक अवस्था हेरेर १५ देखि २० जनालाई सहयोग गर्दे आइरहेका छौं । हामिसँग हाम्रो संस्थामा रहने बिरामीको उपचार तथा नियमित निगरानी विज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीबाट गराउँदैं आइरहेका छौं । हामिहरुले हरेक बिरामीलाई उसको रोगको प्रकृति अनुरुप सम्बन्धित चिकित्सक मार्फत नै सोझै उपचार गरिन्छ । ६ जना नर्स र १ जना फिजियोथेरापिष्टद्धारा नियमित रुपमा उपचार तथा हेरचाह गरिरहेका छौं । अहिलेसम्म हामिले करिब १५०० भन्दा बढि बिरामीको उपचारमा हामिले प्रत्यक्ष सहयोग गरेका छौं ।

बिरामीको लागि मेडिकल उपकरणको प्रबन्ध कसरी गरिरहनु भएको छ?
अहिले टेक्नोलाजिको जमानामा धेरै बिरामीको लागि औषधी बाहेक मेडिकल उपकरणहरु धेरै महिना, धेरै वर्ष उपयोग गरिरहनु पर्दछ । जुन मेडिकल उपकरण एउटा साधरण गरिब मानिसको हैसियत वा भनौं क्षमताभन्दा टाढा रहेका छन् । हामिले त्यस्ता खालका उपकरणहरु डोनेशनमा लिन्छौं त्यस्ता मेडिकल उपकरण लिएर हामिले गरिब बिरामीको निःशुल्क उपचार गराउन्छौं । र त्यस्ता मेडिकल उपकरणलाई पुनः प्रयोग समेत गर्दे आइरहेका छौं ।

खर्चको व्यवस्थापन कसरी गरिरहनु भएको? नेपाल सरकारबाट कुनै सहयोग भएको छ?
यसका लागि हामिलाई आर्थिक स्रोतको धेरै खाँचो छ । जुन हामि हाम्रो सम्पर्कमा रहेका नेपाली साथिहरुबाट आर्थिक व्यवस्थापन गरिरहेका छौं । हाम्रो संस्थासँग जोडिनु भएका धेरै जना, धेरै साना संस्थाहरु हाम्रो संस्थासँग जोडिनु भएको छ । उहाँहरुले बिरमीको लागि आवश्यक खाना, घरभाडा लगायतका सहयोग गर्दे आइरहनु भएको छ । हामिलाई नेपाल सरकारले कुनै किसिमको आर्थिक सहयोग दिएको छैन । तर नेपाल सरकारको मातहतमा रहेका अस्पतालहरुमा हाम्रा बिरामीहरुले सहुलियत रुपमा स्वास्थ्योपचार भने पाएका छन् ।

बिरामीहरुको लागि पुनित कर्म गर्नुभएको छ । उहाँहरुको प्रतिक्रिया कस्तो रहन्छ?
हाम्रो संस्थामा आइपुग्ने बिरामीको आर्थिकस्तर निकै दयनीय हुने गर्दछ । कतिपय बिरामीहरु कतैपनि उपचारको सम्भावना नदेखेर वा उपचारका कारण आफुसँग भएको आर्थिक सक्काएर हामिसम्म आइपुग्नु हुन्छ । यसमा उहाँहरुको लागि हामी बाहेक आशाको किरण कतै बाँकी रहदैंन । यस्ता किसिमका बिरामीको उपचार गर्न पाउनु, उहाँहरुलाई सहयोग गर्न पाउनु हाम्रो शौभाग्य हो ।

उहाँहरुको प्रतिक्रिया एकदमै राम्रो हुन्छ । उहाँहरुले आफै भन्नुहुन्छ कि तपाइहरुको सामाजिक सेवाप्रतिको काम मात्र होइन् कसै कसैको दोस्रो भगवान्को रुपमा यो संस्था स्थापना गर्नुभएको हो । विशेष गरी हामिजस्ता गरिब बिरामीले ज्यान, पैसासँगै परिवारका सदस्यको साथ समेत गुमाउन बाध्य बन्नुपर्ने अवस्थाको संस्थाले धेरै हदसम्म अन्त्य गरेकोप्रति उहाँहरुको खुसी हामिले भेट्छौं । उहाँहरु हामिप्रति आभारी रहेको पाउन्छौं । उहाँहरुले तपाइहरुलाई केहि दिन नसकेपनि हाम्रा सन्तान, आफन्त तथा समाजसम्म तपाइहरुको काम र गरिब, असहायप्रति तपाइहरुको माया, सद्भाव र सहयोगको चर्चा गर्नेछौं जस्ता कुराहरु गर्नुहुन्छ जसले हामिहरुलाई सधै काममा हौशला प्राप्त हुन्छ ।

आगामी दिनमा यो संस्थालाई कसरी अगाडी बढाउने सोचमा हुनुहुन्छ?
यो संस्था हाम्रोजस्तो अर्धविकसित देशको लागि मजबुत पिल्लर हो जस्तो लाग्छ । जुन देशमा गरिबीले बिरामीहरुको पहुँच ठूला ठूला अस्पतालहरुसँग छैन त्यस्ता बिरामीको लागि यस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने गर्दछ । आगामी समयमा अधिराज्यभरीका धेरैभन्दा धेरै दुःखि, गरिब, असहाय, निमुखाको नजिक रहेर काम गर्ने सपना छ तर यसका लागि सर्वप्रथम नेपाल सरकारको हाम्रोजस्तो संस्थामा ध्यान केन्द्रित गरिदिनु हुन मैले आग्रह गर्न चाहान्छु ।

नेपालमा हाम्रो जस्तो अन्य संस्थाहरु पनि तमाम बिरामीहरुको सेवाको लागि स्थापना हुनुपर्छ । त्यसैगरी सबै पक्षहरुको यसका लागि सहयोग समेत आवश्यक रहेको छ । हामिलाई आशा छ आगामी दिनमा नेपाल सरकारले पनि हामीलाई सहयोग गर्नेछ । देश विदेशमा रहेका विभिन्न व्यक्ति, संस्थाहरुको समेत हामिलाई साथ सहयोग रहने आशा राख्दछु । आगामी दिनमा यस संस्थालाई १०० शैयाको मेडिकल पुनर्स्थापना संस्थासम्म विस्तार गर्ने चाहना रहेको छ ।


प्रकाशित मितिः २०७९ माघ १९, बिहान ७ः१५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *