ई.सुदन बस्याल
हालै लुम्बिनी प्रदेशस्थित देवदह नगरपालिकामा उद्घाटन गरिएको बायोमेडिकल उपकरण कार्यशाला देशकै दोस्रो ठुलो र नमुना कार्यशाला भएको छ भने यसअघि सुदुरपश्चिम प्रदेशमा स्थापना भई सञ्चालनमा आईसकेको छ त्यस्तै गण्डकी प्रदेशमा पनि उद्घाटन गरिसकिएको परिपेक्षमा कार्यशालाको काम कारबाही र औचित्य भने प्रस्ट्याउन सम्बन्धित निकायलाई अझै गृहकार्य गर्नुपर्ने देखिन्छ । यसको आवश्यकता बोध नेपाल सरकारले स्वतः स्फूर्त रुपमा गर्न सकिरेहेको देखिदैँन किनभने यस विधाका दक्ष जनशक्ति सरकारी नीति निर्माण तहमा पुग्नसक्ने वातावरण तयार भइसकेको छैन तर पनि केही प्रदेशमा यसको अवधारणा विकास भइरहेको छ । सरकार तथा सरोकारवालाहरुलाई यसको आवश्यकता र महत्वका बारेमा स्वास्थ्य सम्बन्धी काम गर्ने विभिन्न संस्थाहरुले सहयोग पुर्याईरहेको देख्न सकिन्छ ।

बायोमेडिकल कार्यशाला अहिलेको परिवेशमा अपरिहार्य छ र यसबारे सरकार स्पस्ट हुन जरुरी छ । बिगत केहि बर्षहरुमा नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय विकास हुनुका साथै अत्याधुनिक प्रविधिहरु पनि भित्रिरहेका छन् । नेपालको अधिकांश बायोमेडिकल मेशिनरी औजार उपकरणहरु आयातित छन् भन्ने कुरामा दुविधा छैन भन्नुको अर्थ सम्पूर्ण वस्तुहरु बिदेशबाट नै आउँछन् र नेपालको पैसा विदेश जान्छ र यसको प्रत्यक्ष असर नेपालको अर्थतन्तत्रमा परिरहेको छ । प्रविधिमा परनिर्भरता त छंदै छ प्राविधिक जनशक्तीमा पनि निर्भर नै हुनु परिरहेको अवस्थामा यस्ता कार्यशालाले त्यस्ता परनिर्भरता तोड्नेछ भने नेपालको पैसालाई केही हदसम्म बाहिर जानबाट रोक्न सक्नेछ । स्वस्थ्य उपचार र स्वास्थ्य प्रविधि अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्दै स्वास्थ्य सेवा अन्तराष्ट्रिय स्तरको बनाउन पनि बायोमेडिकल कार्यशालको आवश्यकता छ । यस्तै यावत कुराहरुलाई मध्यनजर गर्दा हाम्रो प्रविधि र प्राविधिकहरुलाई निरन्तर रुपमा विकास संगसंगै कार्यसम्पादन जोड दिंदै जानु आजको आवश्यकता देखिन्छ ।

नेपाल सरकारको मातहतमा स्थापना भई कामकारबाही अगाडी बढाइरहेका कार्यशालाहरुले कस्तो काम गर्छन् भन्ने सन्दर्भमा; पहिलो त चिकित्सकीय मेशिनरी औजार उपकरणहरुको आवश्यकता अनुसार मर्मत संभार गर्दछ भने मर्मतपछि आवश्यक हुने क्यालिब्रेशन तथा भ्यालिडेसनको काम गर्दछ । त्यस्तै बायोमेडिकल क्षेत्रमा आवश्यक नीति नियम, निर्देशिका तथा कार्यविधि तयार पारि कार्यान्वनमा ल्याउँदै गईरहेको छ । चिकित्सकीय मेशिनरी, औजार उपकरणहरुको प्रदेश तथा राष्ट्रिय स्तरमा सूची तयार पार्ने र अधावधिक गर्ने काम गरिरहेको छ ।
अर्को महत्वपुर्ण काम, उपकरण तथा मेशिनरी संचालन सम्बन्धी तालिम प्रदान गरि उपकरणको सामान्य समस्याको हल गर्न सक्ने दक्ष स्वास्थ्यकर्मीहरुको उत्पादन गर्ने लक्ष्य पनि रहेको छ । उपकरण मर्मत÷संभारको तालिम सञ्चालन गरी दक्ष प्राविधिक तयार पार्ने योजना पनि रहेको स्पष्ट छ, प्रयोग गर्न नसकिने वा पुर्ण रुपले बिग्रिएका औजार उपकरणहरुको उचित राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड अनुसार ब्यवस्थापन पनि बायोमेडिकल कार्यशालाले गर्नेछ । कतिपय साना तथा ओसारपसार गर्न सकिने औजार उपकरणहरु कार्यशालामा ल्याई आवश्यकीय काम गर्दछ भने ठुला तथा आवश्यकताका आधारमा कार्यशालको प्राविधिक टोली सम्बन्धित क्षेत्रमा गई सेवा दिदै आईरहेको छ ।

प्रदेशमा स्थापना भई सञ्चालनमा आएका कार्यशालाहरुको चुनौति भने नजरअन्दाज गर्न सकिदैँन । उपयुक्त र दक्ष जनशक्तिको अभाव, प्रदेश सरकारद्वारा आश्यक दरबन्दी सिर्जना नहुनु, पर्याप्त बजेट बिनियोजन नहुनु, मन्त्रालय तथा सरोकारवालाहरुले यस विषयमा आवश्यक ध्यान नपुर्याउनु र आन्तरिक र बाह्य ब्यवस्थापन कमि कमजोरी, इत्यादी चुनौतीका रुपमा प्रस्टै देख्न सकिन्छ तथापि स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउन र अन्तराष्ट्रिय मापदण्डलाई पछ्याउन बायोमेडिकल उपकरण कार्यशालाको विधिवत् रुपमा सञ्चालन र ब्यवस्थापन गर्न भने अति जरुरी देखिन्छ ।
–लेखक बस्याल बायोमेडिकल इन्जिनियरको रुपमा स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेशमा कार्यरत छन् ।
प्रकाशित मितिः २०७९ भदौ ३०

