फर्मासिष्टको महत्व र वर्तमान अवस्था

विचार/ब्लग हेडलाइन्स

सरोज पंन्थी
फार्मेसी भन्नाले औषधिको छनोट, पहिचान, विश्लेषण, औषधीय प्रभाव, विशक्तत्ता, तयारी, प्रयोग, निषेध र वितरणको साथै व्यापारिक तथा कानुनी पक्षहरुको समेत अध्ययनलाई जनाउँछ । विश्वमा स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवं संवेदशनशील क्षेत्र हो, फार्मेसी पेसा । औषधी बिनाको स्वास्थ्य क्षेत्र वा उपचार सम्भव पनि छैन र कल्पना गर्न पनि सकिदैन । खोपलाई समेत जोडेर हेर्दा औषधी नचाहिने मानिस नै छैनन् । बच्चा गर्भमा रहेदेखि जन्मिएर पूरा जीवन कटाई मृत्युवरण गर्दासम्म हामी औषधीको सहयोग लिई रहेको हुन्छौं । अनि त्यही औषधीसंग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन फर्मासिष्ट अर्थात औषधी विज्ञ । समाजमा फर्मासिष्टलाई संकोचित हिसाबले एउटा औषधी व्यापारी भनेर हेर्ने गरिएको पाइन्छ । के साँच्चिकै फर्मासिष्टहरु औषधी व्यापारी मात्र हुन त ? पक्कै पनि होइन, फार्मेसीको क्षेत्र व्यापक छ । जस्तै कम्युनिटी फार्मेसी, इन्डस्ट्रियल फार्मेसी, मार्केटीङ्ग फार्मेसी, एकेडेमिक फार्मेसी आदी ।
नेपालका धेरै अस्पतालहरुमा, अस्पतालमा रहेको फार्मेसी विभागलाई खासै प्राथमिकतामा राख्ने गरेको देखिदैंन । साथै आवश्यक जनशक्तिको दरबन्दी कायम नभएको, वृद्घी तथा विकासको लागि तालिमको अभाव छ । साथै समग्र अस्पताल फार्मेसीहरुको स्थापना भए देखिको ठाउँ हेर्ने हो भने एउटा साँघुरो कोठालाई व्यवस्थापन गरी संचालन गर्नु पर्ने बाध्यता रहेको छ । अस्पताल फार्मेसीलाई विकास गर्नुको निम्ति एक मुल नारा “जहाँ औषधी त्यहाँ फर्मासिष्ट” को व्यवस्था जरुरी छ । त्यस्तै उचित ठाउँमा उपयुक्त औषधिको भण्डारण गर्नु पनि त्यत्तिकै आवश्यक छ । फार्मेसी संचालन गर्नुको मुख्य उद्देश्य बिरामीलाई गुणस्तरिय औषधी सर्वसुलभ ढंगले उपलब्ध गराउनुको साथै बिरामीलाई खाने मात्रा, त्यसको प्रभाव लगायतका औषधीका विविध पक्षमा बिरामीलाई ज्ञान उपलब्ध गराउनु समेत रहेको छ ।


औषधीको वितरण गर्दा विरामीलाई जाँच गरी चिकित्सकको पे्रस्किप्सन बमोजिम वितरण गरिन्छ । कहिले काहीं विरामीले प्रतिअसर, महङ्गो र दिक्क लागेर पनि वा चाँडो निको नभएको कारणले पनि औषधि छोड्ने गर्दछन् जुन एकदमै लापरवाही गरेको बुझ्नुपर्छ र निर्देशन बमोजिम नियमित औषधी सेवन गर्ने कुरामा बिरामी सजग हुनुपर्छ ।


बिभिन्न अध्ययनलाई हेर्दा औषधी खान नपाएर भन्दा औषधीको गलत प्रयोगबाट मर्ने तथा शरीरमा नकारात्मक असर पर्नेहरुको संख्या बढी देखिन्छ । एन्टीबायोटिक्स जस्तो जीवन रक्षक औषधीले विस्तारै काम गर्न छाड्दैं जानु विश्वको प्रमुख समस्या बन्दै गइरहेको देखिन्छ । कारण हो, औषधिको विवेक पूर्ण प्रयोग नहुनु । आफू खुसी औषधिको प्रयोग गर्नु, चिकित्सक वा फार्मेसीष्टले दिएको सल्लाह नमान्नु, औषधी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी नअपनाउनु र औषधिको विक्री वितरण गैर फर्मासिष्टले गर्नु पनि एक मुख्य कारण हुन् । औषधीको विवेकपूर्ण प्रयोगलाई ख्याल नगरी मनलाग्दी प्रयोग गर्दै जाने हो भने औषधीले काम गर्न छाड्दै जान्छ र नयाँ प्रभावकारी औषधि बन्न नसक्ने हो भने स्वास्थ्य क्षेत्रमा एक संकट नआउला भन्न सकिंदैन ।

मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो संवेदनशील क्षेत्रको विकासको लागि औषधीको उत्पादन बढाई देशलाई फर्माच्युटिकल इन्डष्ट्रिको रुपमा परिचित गराई आत्मनिर्भर बनाउन र संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको गुणस्तरिय स्वास्थ्य सेवा जनताको माझमा पु¥याउनको लागि फार्मेसी जनशक्तिलाई सम्बन्धित कार्यमा व्यवस्थित गर्नु पनि राज्यको एक प्रमुख अभिभाराको विषय हो ।


फार्मेसी पेसाप्रति रहेको भ्रमलाई हामीले चिर्नु जरुरी छ । “Right Person in Right Place ” लाई कार्यान्वयन गराउन औषधी सम्बन्धि उत्पादन, खरिद तथा विक्री वितरण, नियमन आदि कार्यमा सम्बन्धित दक्ष जनशक्तिको विज्ञतालाई सदुपयोग गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन जरुरी छ । औषधि ऐन २०३५ ले त औषधि बिक्री वितरणमा फर्मासिष्ट र सहायक फर्मासिष्टको अनिवार्य उपस्थिति हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । हाम्रो देशमा औषधी सम्बन्धी ऐन कानुन नीति नियमहरु त छन् तर बिडम्बना त्यो लागु हुन सकेको छैन ।


जहिले पनि बिरामीले औषधिको प्रयोग, असर, मात्रा, साङ्केतिक लक्षण, प्रतिअसर, विशाक्त असर तथा सावधानीको बारेमा राम्ररी बुझेर मात्र औषधीको सेवन गर्ने गर्नुपर्छ र यी र यस्ता कुरा उपयुक्त ढंगले बिरामीलाई परामर्श गर्ने कुरामा फर्मासिष्ट चुक्नु हुँदैन ।

प्रकाशित मितिः २०७९ भाद्र २६ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *