निक साइमन्स इन्सिच्युटको सहयोगमा बायोमेडिकल यूनिटको स्तरोन्नति

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य, भक्तपुर अस्पतालमा निक साइमन्स इन्सिच्युटको सहयोगमा निर्माण गरिएको बायोमेडिकल उपकरण युनिटको स्तरोन्नति गरी समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम गरिएको छ। अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष शशीजङ्ग थापा, इन्सिच्युटका कार्यकारी निर्देशक अर्चना अमात्य र अस्पताल निर्देशक डा. सुरेन्द्र प्रसाद भट्टको विशेष उपस्थिति रहेको थियो साथै अस्पतालमा कार्यरत विभिन्न वार्ड, डिपार्टमेन्टका प्रतिनिधि कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा इन्सिच्युटका टिम को-अर्डिनेटर श्री सुरेश श्रेष्ठले स्वास्थ्य सेवामा संस्थाले गर्दै आएको कार्यहरूको विवरण प्रस्तुत गर्नुभयो। बायोमेडिकल युनिट स्थापनाका लागि इन्सिच्युटको तर्फबाट बायोमेडिकल इन्जिनियर सागर सिंहले समन्वय गर्दै आउनुभएको थियो । भक्तपुर अस्पतालमा स्थापना गरिएको यो युनिट प्रदेश अन्तर्गतका अस्पतालहरूमा निर्माण भएका युनिटहरूमध्ये सबैभन्दा ठूलो हो। अस्पतालमा उपकरण व्यवस्थापन तथा मर्मत सम्भारलाई प्रभावकारी बनाउन स्थापना गरिएको यस युनिटले अस्पताल सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

इन्सिच्युटले हालसम्म देशभर ४१ वटा बायोमेडिकल युनिटहरू स्थापना गरिसकेको छ। साथै, ६ वटै प्रदेशमा बायोमेडिकल उपकरण परीक्षण उपकरणसहितका प्रदेश बायोमेडिकल वर्कसपहरु पनि स्थापना गरेको छ। भक्तपुर अस्पतालमा बायोमेडिकल युनिट निर्माणको पहल तत्कालीन निर्देशक तथा हाल बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको कार्यकालमा भएको थियो। अस्पताल व्यवस्थापनले यस उपलब्धिलाई स्वास्थ्य सेवामा प्रविधि र व्यवस्थापन सुधारतर्फको कदमका रूपमा लिएको छ।

प्रकाशित मिति: २०८१ माघ २१ गते, बिहान ६:१० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *