विचार- आत्महत्या पनि हत्या हाे

विचार/ब्लग

चक्र के.सी.
आत्महत्या पनि हत्या हाे; आत्महत्या गर्नेहरूप्रति श्रद्धाञ्जलि दिन सकिएन…


विज्ञानमा शक्ति संरक्षणकाे सिद्धान्त अनुसार – उर्जालाई सिर्जना गर्न वा नष्ट गर्न सकिदैन , उर्जालाई एउटा स्वरुपबाट अर्काेमा रुपान्तरण गर्न मात्र सकिन्छ । अध्यात्म विज्ञानमा आत्मिक शक्ति वा चेतना शक्तिलाई ब्रह्माण्डकाे अनन्त उर्जाकाे सानाे अंश मानिएकाे छ । त्यसैले कहिले नष्ट नहुने आत्मशक्तिलाई मृतात्म भन्न नसकिएकाे हाे , बरु एउटा स्वरुपबाट अर्काे स्वरुपमा जाने दिवगंत आत्माकाे चिर शान्तिकाे कामना गरिन्छ । फेरि मुक्तात्मा भनेकाे जन्म र मृत्युकाे सांसारिक याेनिचक्रबाट सदाकाे लागि माेक्षप्राप्त दिव्यगति प्राप्त आत्मा हाे ।

मानव वा देव याेनिमा जन्म लिनु भनेकाे सद् गति प्राप्त गर्नु हाे भने मानिसकाे भन्दा निम्न तहकाे चेतना भएका प्राणीहरुकाे याेनिमा हुने जन्मलाई अधाेगति भनिन्छ । मानिस तेस्ताे अवसर प्राप्त प्राणी हाे जसले आफ्नाे चेतना शक्तिकाे सदुपयोग गरि आफुलाई उच्च आयामकाे गतिमा रुपान्तरण गर्न सक्ने क्षमता राख्दछ । हाम्रा पाैराणिक कथाहरुमा आत्महत्या गर्नेहरु अगतिमा पर्ने भनी व्याख्या गरिएकाे छ । अगतिमा पर्ने भनेकाे अर्काे जन्मप्राप्तीकाे अवसर प्राप्त नभएर बिच यात्रामा आत्म भड्किएकाे दु:खद अवस्था हाे ।

हाम्राे परम्परागत चलनमा पनि आत्महत्या गर्नेहरुलाई कुकुरकाे दिशा खुवाउने चलन थियाे । सायद आत्महत्याकाे सिलसिलालाई दुरुत्साहन गर्ने यस्ता व्यवहारहरुलाई हामीले वाहियात भनिरहेका छाैं । फेरि हाम्राे कानुनी व्यवस्थाले पनि आत्महत्यालाई दण्डनीय अपराध मानेकाे छ । आफ्नाे प्राणकाे हत्या गरेपनि अरुकाे प्राणकाे हत्या गरेपनि हत्या भनेकाे हत्या नै हाे; आत्महत्याकर्ता अपराधी हाे । मानव जीवनकाे प्रमुख विशेषता भनेकाे बाँच्नकाे लागि प्रतिकुल परिस्थितिहरुमा संघर्ष गर्नु हाे । यहि संघर्ष गर्ने अवसरमा जीवनकाे साैन्दर्य देख्न सक्ने दृष्टिकोण विकास गर्नु पर्दछ ।

जीवनका सम्पुर्ण परिस्थितिहरुका आँधिहुरिहरुमा आफूभित्रकाे आशाकाे दियाेलाई निभ्न नदिने दृढशक्ति भएकाे एउटा बलियाे आध्यात्मिक कवजकाे निर्माण गर्नुपर्दछ । इज्जत-प्रतिष्ठा, सफलता, धन-सम्पत्ति , आफन्त-इष्टमित्र लगायतका सम्पूर्ण पक्षहरुकाे सांस्कृतिक मूल्य भन्दा प्राणरक्षाकाे प्राकृतिक मूल्य ठूलाे हाे । तर काम, क्राेध,लाेभ, माेह र अहंकारले हाम्राे आत्मकाे वासस्थानलाई प्रदुषित बनाइदिएकाे छ, जसले गर्दा के सहि वा के गलत हाे भनी निर्णय गर्ने विवेकलाई छाेपिदिएकाे छ । आत्मकाे बासस्थानमा विभिन्न मनाेराेगहरुकाे संक्रमण बढेपछि सदा शान्त र स्थिर अवस्थामा रहन चाहने आत्मले नै त्याे स्थानबाट बाहिर निस्किने प्रयास गर्दाेहाेला-अनि मानिसमा आत्महत्या गर्ने साेचकाे पैदा हुँदाेहाे र अन्तमा मानिसले आत्महत्याकाे विकल्पलाई राेज्ने गर्दछ हाेला ।

भगवानकाे बासस्थान मानिएकाे मन्दिर ,मस्जिद, गुम्बा ,चर्चहरुकाे सरसफाइमा विशेष ख्याल गर्ने सचेत सांस्कृतिक संस्कार बाेकेका हामीहरुले आफ्नाे आत्मलाई सफा गर्ने आध्यात्मिक सफाइ (Spiritual Bathing ) गरि विभिन्न मनाेराेगहरुकाे संक्रमणबाट आफूलाई बचाउनु पर्नेछ ।

हाम्राे जीवन प्रतिकाे धारणा र जीवन जिउने कला रुपान्तरण गर्न सक्ने आत्मिक शक्तिकाे जग यसरी निर्माण गर्नुछ–जस्ताेसुकै कठीन परिस्थितिहरुमा पनि मानवीय आत्मरक्षाकाे लागि सतिसाल बनेर खडा हुनु सकिओस् । यहि नै सामाजिक सेवाकाे मुख्य कर्म हाे, सम्पूर्ण धर्मकाे सार हाे ,आध्यात्मिक यात्राकाे मुलबाटाे पनि हाे । याे नै हाम्राे जीवन उपयाेगी शिक्षाकाे मूलभूत उद्देश्य हाे ।

व्यक्ति, परिवार,समुदाय र राज्यलाई दाेषी देखाउने कारणहरु खाेजेर आत्महत्याका यस्ता समस्याहरुकाे दिर्घकालिन समाधान दिन कदापि सकिने छैन । सहि समयमा आध्यात्मिक जागरणकाे अभ्युदय हुन नसकेकाे कुरामा सहानुभूति दिन सकिएला तर आत्महत्या गर्नेहरुप्रति यसरी गर्ने गरिएका श्रद्धाञ्जलिका दृश्यहरुले आम सर्वसाधारणलाई पनि त्यहि दिशामा प्राेत्साहन गर्न सक्दछ भन्ने कुराकाे ख्याल गराैं । यस्ताे संवेदनशील समयमा गरिएका सम्पूर्ण गतिविधिहरुकाे प्रभाव समाजमा गहिराे पर्दछ ।

परिवार ,समुदाय र राष्ट्रलाई गहिराे मानसिक पिडा दिने गरि गरिएका यस्ता अमानवीय र असामाजिक कार्यकाे प्राथमिकताले समाजलाई गलत सन्देशकाे दृश्य दिन सक्छ । त्यसैले निर्दयीहरुप्रति याे समयमा सहानुभूति र श्रद्धाञ्जलि अर्पण नगर्दा राम्राे हुँदाेहाेला । सत्कार्य र सुकार्यकाे लागि श्रद्धा र सुस्मरण समय सन्दर्भ अनुसार हुनुपर्दछ ।

प्रकाशित मितिः २०८० भदौ ४ गते, बिहान ६ः४९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *