गरिबको साथी हुन नसकेका सरकारी अस्पताल

विचार/ब्लग हेडलाइन्स

सपना केसी
सरकारले आफ्ना नागरिकको सहज उपचार होस् भनेर सरकारी अस्पतालहरुको स्थापना गरेको छ । त्यसमा भौतिक पूर्वाधारमा मात्रै नभएर जनशक्ति, उपकरण, औषधी लगायतका अन्य आवश्यकीय सामाग्रीको समेत व्यवस्था सरकारले सक्दो रुपमा गरेको छ तर समाजमा गरिबीको रापले थिचिएका तमाम् नागरिकले भने उपचारमा यथोचित लाभ लिन सकेको देखिदैंन ।

खासगरी सरकारी अस्पतालको चित्र नै आम मानिसमा सहि किसिमले मस्तिष्कसम्म बस्न सकेको छैन । अस्पतालहरु गरिबीले थिचिएकाको उद्धार गर्न आफैमा कति सक्षम छ भन्ने जटिल प्रश्न उनैतर्फ सोझिएको छ । राज्यले पनि सरकारी अस्पतालको गुणस्तरीयतामा सहि किसिमले नजर लगाउन सकेको देखिदैंन ।

एउटा सरकारी अस्पतालमा केहि क्षण घुमियो भने अस्पतालको सेवालाई हामिले मापन गर्न सक्छौं । त्यहाँ अभावले चारैतिर घेरा हालेको देख्न सकिन्छ । अस्पतालमा रहने अस्पताल विकास समितिको समेत अर्थ सहि तवरले भेट्याउन मुस्किल पर्छ । समितिको नाममा विकास जोडिएपनि ती कति आफ्नो अस्पताललाई जनताप्रति केन्द्रित गर्न कति अग्रसर छन्, कति प्रतिबद्ध छन् र कति सकारात्मक छन् भन्ने कुरा आम नेपालीले अनुमान लगाउन गाह्रो छैन ।

सरकारी अस्पतालमा स्थापना भएका सामाजिक सुरक्षा एकाइले गरिब जनतालाई कत्तिको सुरक्षा दिन सफल भए यसको कुनै लेखाजोखा छैन । लाग्छ यी एकाइ गरिब जनताको भन्दा पनि पहुँचवालाको लागि स्थापना त भएका छैनन् भन्ने भान पर्छ । एउटा राजनीतिक तथा प्रशासनिक पहुँचवालाको एक कल फोनको भरमा यसले धनी र हुनेखानेको सिधा पक्षपोषण गरेको हामिले देख्ने गर्छो ।

समाजका एलिट वर्गको चाकडीमा समेत केहि सरकारी अस्पताल राम्रैसँग लाग्छन् । उनीहरु हरसम्भव उनीहरुको सेवामा जसरी पनि लाग्छन् तर त्यहाँ गरिबी र अभावले थिचिएका कयौं बिरामीको भने वास्ता हुन्न यदि भयो भने पनि व्यवहार गरिब बिरामीलाई कुन स्तरको हुन्छ भन्ने कुराको भुत्तभोगी धेरै भएको पाउन्छौं ।

सरकारले ल्याएको स्वास्थ्य बिमाले जनतामा केहि भएपनि राहत त दिएको छ । तैपनि यसमा सुधारका धेरै कुरा बाँकी नै छन् । जस्तोकी पहिलो कुरा बिमाबाट आम मानिसहरुले आवश्यक औषधी नै पाउन सकेका छैनन् । सामान्य औषधी पनि किन्नुपर्ने दयनीय पाटो सबैका सामु छ ।

यसर्थ सरोकारवाला तपाइहरु गम्भिर बनिदिनुहोस् । गरिब जनतालाई उपचारबाट बिन्ति छ, बन्चित नगरिदिनुहोस् ।

प्रकाशित मितिः २०७९ चैत्र १९, बिहान ९ः४१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *