अनुश्री
बुवाआमाको आफ्नो घर छ, तर जीवनमा शीतलता छैन।
जोडेको सम्पत्ति छ, तर एक मानो पकाएर खाने तागत छैन। सन्तानहरू छन्, तर दुःखमा कसैको साहारा छैन।
म यस जिल्ला अस्पतालमा करिब १० महिना भयो काम थालेको। यस अवधिमा मैले यस्ता धेरै घटनाहरू देखेँ, जहाँ बुवाआमाको माया सन्तानप्रति थियो र सन्तानको अपार माया आमाबुवाप्रति देखिन्थ्यो। तर केही घटनाहरू यस्ता पनि थिए, जुन महिनौँ नियाल्दा मनले बारम्बार सोध्यो – “अन्ततः बाँच्नु कसका लागि हो?” उत्तर खोज्दा महसुस भयो – बाँच्नु त आफैंका लागि हो। जब आफ्नो अस्तित्व मेटिन्छ, बाँच्नुको कारण पनि मेटिँदो रहेछ।
महिनौँ भइसक्यो, म र अन्य स्वास्थ्यकर्मीहरू हरेक दिन एउटै बेड वरिपरि घुमिरहेका हुन्छौँ – त्यो बेडमा बस्ने दमको बिरामी एक आमा र उनका करिब ८० वर्षीय श्रीमान् सधैं दयनीय अवस्थामा देखिन्छन्। दृश्यले बारम्बार मलाई भन्छ – “उहाँहरूसँग केही कुरा गरौं, मनका भावना पोख्ने चौतारी बनौं, केही सहयोग गरौं।” तर जब बुवा बोल्न थाल्नुहुन्छ, उहाँको आँखा नै धेरै बोल्न थाल्छन्। तब लाग्छ, कहीँ उहाँको पीडा सम्झाएर झनै दु:खी त बनाइरहेकी छैन?
बुवा हरेकपल्ट नम्रताका साथ शिर झुकाएर नमस्कार गर्नुहुन्छ, तर उहाँको त्यो झुकेको शिर देख्दा म सधैं झसंग हुन्छु – यो झुकाइ सम्मानको हो कि लाचारपनको? म आफैंसँग प्रश्न गर्छु। कारण जेसुकै होस् तर उहाँको झुकेको शिरले मनलाई भारी बनाइदिन्छ। आजसम्म पनि, ड्युटीको फुर्सद पाउँदा सधैं उहाँलाई समय दिने प्रयास गर्छु। जब उहाँ रुनुहुन्छ, म सान्त्वना दिन्छु र बाध्यता बस फेरि आफ्नो काममा लाग्छु – उहाँको भारी भावनाहरू आफैसँग लिएर।
आमाको स्वास्थ्य सुरुमा निकै नाजुक थियो – फोक्सो र मुटुको समस्या थियो। बुवाको अनुहारमा आत्मबल घटेको देखिन्थ्यो। एकदिन म आमाको एक्स-रे गर्न लैजाँदै थिएँ, सोचेँ – बुवालाई थोरै विश्राम मिलोस्। तर फर्किंदै गर्दा देखेँ – बुवा आफ्नो लौरोको भरमा लरबराउँदै पछिपछि आउँदै हुनुहुन्छ। मैले सोधेँ – “बुवा, तपाईं किन आउनुभयो?”
बुवाले भने – “नानी, म आमालाई एक्लै हिँडेको देख्न सक्दिनँ। बाटोमा केही भयो भने के गर्ने?”
त्यो सुन्दा म निकै भावुक भएँ। एक महिनासम्म अस्पतालको शय्यामा सास फेर्न संघर्ष गरिरहेकी श्रीमतीलाई एकछिन पनि नछोड्ने उहाँको माया देख्दा, लाग्यो – निस्वार्थ प्रेम साँचो यही हो।
बुवा भन्नुहुन्थ्यो – आमाको सहारा अक्सिजन सिलिन्डर र उहाँको सहारा लौरो बनेको थुप्रै समय भइसक्यो। बुवा घरमा पकाउने, खुवाउने सबै काम आफैँ गर्नुहुन्थ्यो, यद्यपि शारीरिक रूपमा अत्यन्त कमजोर हुनुहुन्थ्यो तर आमाप्रतिको माया भन्दा थोरै कम। बुवा सकेसम्म कहिल्यै आमाको अगाडि रुनु हुन्नथ्यो। जब रुनुहुन्थ्यो, म आमाको आँखा नियाल्थे – उहाँ कहिल्यै आँसु खस्न दिनु हुन्नथ्यो। किनभने आमालाई थाहा थियो – बुवाको सबैभन्दा ठूलो कमजोरी उनी स्वयं थिइन्।
आमालाई रोगले गलाउँदै गर्दा मैले बुवालाई प्रादेशिक अस्पताल लैजान सुझाव दिएँ। उहाँ भन्नुहुन्थ्यो – ऋणधन गरेर पनि जान्छु, पहिले गएको पनि हो तर एक्लै माथिल्लो–तल्लो तला गर्न नसक्ने भए। तीनजना छोराहरू छन् तर हाजिरी पनि मुस्किलले– साथ छैन। बुढेसकालमा आएर सन्तान भएर पनि बाँझो जस्तो लाग्दैछ।
एकपल्ट मैले सोधेँ – “बुवा, तपाईँको छोरी छैन त?”
बुवाले भन्नुभयो – “छोरी भएको भए त नानी, म यति दिन किन कुर्थें र? छोरीलाई ‘छोरी, जाम’ भन्थेँ। दुर्भाग्य छोरी भएनन्।”
कसैलाई छोरी हुँदाको पिर र कसैलाई भने छोरी नहुँदाको दयनीय अवस्था। जुन छोरी नहुनेले मात्रै बुझ्छ र हुनेले बुझ्दैन। त्यो सुन्दा मन भक्कानिएर आयो। बुवाको त्यो वाक्य – “यदि तपाईं जस्तो मेरी छोरी हुनुहुन्थ्यो भने…” – मेरो हृदयमा गहिरो असर पार्यो।
डेढ महिनाको बसाइपछि आमाको स्वास्थ्यमा सुधार आयो। तर बुवाले घर लैजान सक्नुहुन्न – बाटोमा अक्सिजनको व्यवस्था छैन। मलाई थाहा थियो – उहाँहरूको घरको अवस्था कमजोर छ। लाग्थ्यो, सायद अस्पताल नै उहाँहरूको लागि घरसरह भएको थियो – जहाँ मान्छेहरू बोल्थे, भावना बुझ्थे, र अस्पतालको क्यान्टिनले पेट भर्थ्यो।
डिस्चार्जका लागि बोलाएको तीन दिनपछि मात्रै तीनजना छोराहरू आउँछन्। उनीहरू भन्छन् – “आफ्नै घर जानुहोस्, हामी राख्न सक्दैनौं।” बुवा कुरा गर्दागर्दै भक्कानिनुहुन्छ – “बरु आमालाई लैजाओ, म यहीँ अस्पतालमै बस्छु।”बुवाको त्यस्तो कुरा सुन्दा सुन्ने हामी सबैजनाको आँखा भिज्न थाल्छन्।
कसैका लागि अस्पताल जस्तो डरलाग्दो ठाउँ पनि भरोसाको आश्रय बन्छ। ती बुवाआमालाई वृद्धाश्रम चाहिएको थियो, जुन अस्पतालले केही समयका लागि पूर्ति गर्यो।
तर अन्ततः, आमा मुस्कुराउँदै आफ्नो घर फर्किनु भयो – त्यो दृश्य, मेरो लागि अस्पतालको सबैभन्दा सुन्दर क्षण थियो।
सायद, स्वास्थ्यकर्मी हुनुको सबैभन्दा ठूलो सौभाग्य यही हो – हामीले पीडामा रहेका मानिसहरूको शारीरिक मात्र होइन, भावनात्मक अवस्थालाई पनि बुझ्न पाउँछौं र सकेसम्म, उनीहरूको पीडा पखाल्ने मौका पाउँछौ।
प्रकाशित मिति:२०८२ जेठ ९ गते, बिहान ११:१० बजे

