डा. रोजी थपलिया, तराईको सामान्य परिवारमा हुर्केकी एसएलसीमा जिल्ला प्रथमदेखि पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढिसकेकी हुँ । पोस्ट ग्र्याजुएटका लागि मैले पाएको पूर्ण छात्रवृत्तिको सिट त्यागेर ग्रामीण नेपालको हिमाली जिल्लामा कर्णाली लोक सेवाबाट ६ भदौ २०८१ मा डोल्पा सिफारिस भएँ । डोल्पाली मट्टीमा कर्णालीको बहावसँगै बादलभन्दा माथिमाथि हुँदै शहरको तडकभडक छोडेर सोझा साझा जनताको घाउमा मलम बन्न डोल्पाली यार्साभूमिमा आइपुगेँ । डोल्पाको मनमोहक प्रकृतिसँग एक किसिमको प्रेम बसिसकेको छ । त्यस्तै, यहाँका सोझासिधा बिरामीसँग आफ्नोपनको छुट्टै आभास भइसकेको छ ।
तराईको सामान्य परिवारमा हुर्केकी एसएलसीमा जिल्ला प्रथमदेखि पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढिसकेकी हुँ । पोस्ट ग्र्याजुएटका लागि मैले पाएको पूर्ण छात्रवृत्तिको सिट त्यागेर ग्रामीण नेपालको हिमाली जिल्लामा कर्णाली लोक सेवाबाट ६ भदौ २०८१ मा डोल्पा सिफारिस भएँ । डोल्पाली मट्टीमा कर्णालीको बहावसँगै बादलभन्दा माथिमाथि हुँदै शहरको तडकभडक छोडेर सोझा साझा जनताको घाउमा मलम बन्न डोल्पाली यार्साभूमिमा आइपुगेँ । डोल्पाको मनमोहक प्रकृतिसँग एक किसिमको प्रेम बसिसकेको छ । त्यस्तै, यहाँका सोझासिधा बिरामीसँग आफ्नोपनको छुट्टै आभास भइसकेको छ ।
बालविवाह, अचेतना, अशिक्षा, गरिबी अनि अन्धविश्वास यहाँको विकराल रोग नै भन्नुपर्छ । बालविवाह, कम उमेरमा गर्भवती हुने अनि डेलिभेरी बेलाको जटिलताले मृत्युवरण गर्नुपरेको कहालीलाग्दो स्थिति छ । धामी अनि देउतालाई देखाएर मात्र अस्पतालमा प्रायः बिरामी ल्याउने गरिन्छ, जसले गर्दा समयमा उपचार हुन पाउँदैन र बिरामी निकै जटिल अवस्थामा पुग्नुहुन्छ । जिल्ला अस्पतालमा उपचार सम्भव नदेखिएपछि रिफर गरेका बिरामी पुनः उही देउताकोमा तिथिमिति निकाल्न पुगिदिँदा बिरामीहरूको ज्यानसमेत जाने गरेको छ । जिल्लाको एक मात्र अस्पतालले यहाँको स्वास्थ्यको ठूलो भार धानिरहेको छ । अस्पतालमा डाक्टरदेखि कार्यालय सहयोगी सबैको ड्युटी आलोपालो गरेर गर्ने गरिन्छ ।
डेलिभरी केस प्रायः दिनहुँजस्तो आउने गर्थ्यो । त्यस रात पनि डेलिभरी कोठा अछुत रहेन । महिना कात्तिकको थियो । अरु ठाउँभन्दा डोल्पामा चिसो बढिसकेको थियो । हुन त त्यस रात मेरो ड्युटी थिएन । तर, निमित्त स्वास्थ्य व्यवस्थापकको रूपमा भने मेरो ड्युटी कात्तिक महिनाभरि नै थियो ।
अचानक करिब रातको १२ः३० बजेतिर मेरो फोनमा जिल्ला अस्पताल डोल्पाको लेबर रुमको फोनबाट सिस्टरको कल आयो । उहाँले भन्नुभयो, ‘डाक्टर, व्यथा लागेकी गर्भवती महिलाको भिडियो एक्सरे गर्न आइदिनुपर्यो हजुर, पीभी गर्दा बच्चाको खुट्टाजस्तै भेटियो, बच्चा उल्टो पो छ कि !’
‘हुन्छ सिस्टर, म आइँहालेँ’ भन्दै म भिडियो एक्सरे कक्षतर्फ लागेँ । ती महिलालाई पनि लेबर रुमबाट भिडियो एक्सरे रुममा ल्याइयो । नभन्दै भिडियो एक्सरे गर्दा बच्चा छड्के बसेको र खुट्टाचाहिँ पाठेघरको मुखतर्फ थियो । अनि सालनाल खस्ने जोखिम पनि उत्तिकै थियो । महिलालाई व्यथा लागिरहेको थियो । चार घर खुलिसकेको थियो । त्यस रात भगवान्ले हाम्रो परीक्षा लिएकै भन्नुपर्छ, अनि ती महिलाको पनि । न टेलिफोनमा नेटवर्क थियो, न अस्पतालमा बत्ती, न त इन्टरनेट नै, अनि त्यसमा पनि शल्यक्रिया गर्ने डाक्टरसा’प केही दिनदेखि बिदामा काठमाडौं हुनुहुन्थ्यो । ड्युटीका डाक्टर सा’पलाई फोन लागेकै थिएन भन्दै हुनुहुन्थ्यो सिस्टर तर संयोगवश मेरो नम्बरमा चाहिँ फोन लागेछ । आवश्यक परेका सबैलाई कोठाकोठामै गएर उठाउने काम गरियो ।
गर्भवती महिला त्रिपुराकोटको बर्थिङ सेन्टरबाट रिफर भएर आउनुभएको थियो । हामीले गर्भवतीका आफन्त अनि गर्भवतीलाई राम्रोसँग सम्झायौँ । ब्रिच डेलिभेरीका जोखिम अनि आमा र बच्चालाई हुन सक्ने सम्भावित खतराका कुराहरू उहाँहरूले बुझ्ने भाषामा अझै प्रस्ट पार्यौँ । गर्भवती महिलालाई एम्बुलेन्समा शल्यक्रिया हुने ठाउँमा पठाऊँ त बाटोमै केही भइदियो भने के गर्ने भन्ने तनाव । किनभने व्यथा बिस्तारै बढ्दै थियो ।
हामीले राति नै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्यौँ । राति २ बजेतिर नै पत्राचार पनि गर्यौँ । बिहानसम्म बच्चा जन्मिएन भने राष्ट्रपति गर्भवती तथा सुत्केरी हेली उद्धार सेवामार्फत सुर्खेत पठाउने हाम्रो योजना थियो । रातभरि नै नेटवर्कको समस्याले हामीलाई तनावग्रस्त बनायो । ड्युटी अनि ड्युटी नभएका डाक्टर र सिस्टर एकजुट भयौँ ।
ब्रिच डेलिभेरीका म्यानुभर हामी सबैले अध्ययनसँगसँगै भिडियो समेत हेरेर तयारी अवस्थामा थियौँ । त्यसमा पनि गाइनोको डाक्टरसा’पसँग भिडियो कलमा प्रत्यक्ष जोडिने भनेर पनि तयार थियौँ । हाम्रो टोली ती महिलालाई बचाउन हरदम तयार थियो । अनि उहाँ पनि उत्तिकै तयार हुनुहुन्थ्यो । हाम्रो तयारीसँगै भगवान्सँग पनि उत्तिकै प्रार्थना गरिरहेका थियौँ । गर्भवती महिला, परिवारदेखि हामी सबै रातभर एक झिमिक पनि नगरी रातलाई बिदाइ गर्यौँ । बिहान हुँदै गएपछि नेटवर्क पनि आयो । त्यस रात भगवान्ले महिलाको प्रश्रव पीडा धेरै अघि बढाउनु भएन । बिहानसम्म ६ घर खुलिसकेको थियो ।बिहानको खुला आकाश, खुला नेटवर्कले जिल्ला प्रशासन कार्यालयमा हाम्रो पत्र अनि कल पुग्यो । त्यहाँबाट आर्मी हेडक्वार्टरहुँदै सुर्खेतबाट आर्मीकै हेलिकोप्टर दुनै आउने भयो । एकातिर महिलालाई हेर्दै थियौँ, अर्कोतिर हेलिकोप्टर उड्ने आकाश । बिहानीको एक झुल्कोले धेरै झुल्का आशाका किरण हाम्रो मनमनमा जगाएको थियो । नभन्दै आर्मीको पोशाक कलरको हेलिकोप्टर दुनैको आकाशमा वायुपङ्खी घोढाजस्तै उड्दै गरेको देख्यौँ । गर्भवती महिलाको उडाउनुपूर्व अन्तिमपटक सिस्टरले पीभी गर्दा ८ घर खुलिसकेको अवस्था थियो । गर्भवती महिलालाई एक जना कुरुवासहित हेलिकोप्टरमा राखेर सुर्खेत प्रादेशिक अस्पतालतर्फ शल्यक्रियाका लागि पठायौँ ।
पठाएर मात्र कहाँ चित्त बुझाउन सक्ने अवस्था थियो र ! हेलिकोप्टरभित्रै केही भयो कि कति बेला अस्पताल पुग्ने हुन् उनी भनी खुलदुली लागिरह्यो । लाग्थ्यो, केही चमत्कार हुँदै थियो । भगवान्ले तथास्तु गर्दै हुनुहुन्थ्यो । उता हेलिकोप्टर ल्यान्ड भएर गर्भवतीलाई प्रादेशिक अस्पतालतर्फ एम्बुलेन्समा लगियो भनेर खबर आएपछि ढुक्क भइयो । गिलासको आधा कप चिया खाएपछिको आनन्दजस्तो हुँदै थियो । करिब बिहानको ९ः१० बजिसकेको थियो । अस्पताल पुग्दासम्म बच्चाको नाल पाठेघरबाहिर खसिसकेको रहेछ । अनि तत्काल रगतको व्यवस्था गरेर इमर्जेन्जी शल्यक्रिया गरेर आमा र बच्चा दुवैको ज्यान जोगिन पुगेछ । यति खबर सुनेपछि ढुक्क अनि धन्य भएकी थिएँ, एक गिलास चिया बल्ल सकिएर आनन्दित भएजस्तो ।
हामी सबैको अनिँदो आँखामा मीठो निद्रा बल्ल परेको थियो । भगवान्को घरमा ढिलासुस्ती होला तर अँध्यारो कहिल्यै हुन्न भन्थे, त्यस्तै भएको थियो । जिल्ला अस्पतालमा त्यही दिन बत्ती नहुनु, इन्टरनेट, नेटवर्क नहुनु र शल्यक्रिया गर्ने डाक्टरको अभाव हुँदा ब्रिच अनि नाल खस्ने जोखिम भएको गर्भ निकै तनावग्रस्त थियो । तर, अप्ठ्यारोका पर्खालहरूमा सम्भावनाका ढोकाहरू खुल्ने रहेछ्न् ।अनि मलाई ती महिला र बच्चाको उद्धार गरिरहँदा यस्तैयस्तै परोपकारी कामका लागि जन्म लिएको र मेरा एकएक परोपकारी कामले सिद्ध गरिरहेको अनुभूति भइरहेको थियो । मैले त्यतिका मिहिनेत गरेर पूर्ण छात्रवृत्तिमा नाम निकालेको पोस्ट ग्राज्युएसन सिट छोडेर किन कर्णाली आएँ ? मेरो बाटो किन मोडियो ? भनेको त मलाई छालाको विशेषज्ञतामा मात्रै सीमित हुन मन थिएन । मैले अझै धेरै कुरा गर्नु छ भन्ने थियो । मलाई परोपकारी कामले बोलाइरहेको थियो । मैले त्यसै रातबाट धेरै पाठ सिकेँ । असम्भव भन्ने कुरा केही हुन्न रहेछ । कोसिस गरे हरेक असम्भवहरू सम्भव हुने रहेछन् ।
सीमित स्रोत साधन अनि जनशक्तिमा पनि परिआएमा जस्तोसुकै आइतबारहरू सहज हुने रहेछन् । बिरामीको उपचारसँगै हाम्रो मीठो बोलीवचन, अनि समयमै उचित परामर्शको ठूलो भूमिका हुने रहेछ । जस्तोसुकै अप्ठेरो अवस्थामा पनि संयमित अनि नआत्तिईकन काम गर्नुपर्ने रहेछ । जिल्ला अस्पतालमा कम्तीमा एउटा एमडी तालिमप्राप्त डाक्टरचाहिँ जहिले पनि तयारी अवस्थामा हुनुपर्ने रहेछ । अनि हामीले सधैँ यो भएन त्यो भएन मात्र भनिरहँदा कुराहरू अझै बिग्रने रहेछन् ।
नभएका कुराहरूमा जोड गरिरहनुभन्दा हामीले भएकै कुराबाट कति फाइदा लिन सक्छौँ र आफ्नोआफ्नो ठाउँबाट पहल गर्दै बिस्तारै परिवर्तनका मुनाहरू फुलाउन सक्छौँझैँ लाग्यो । अनि परिवर्तन आफैँबाट सुरु गर्न सकिने रहेछ । आजै र अहिल्यै सकिने रहेछ, मात्र इच्छाशक्तिको कुरा मात्र होझैँ लाग्यो ।
(निक साइमन्स इन्स्टिच्युटले आयोजना गरेको ‘१३औँ ग्रामीण स्वास्थ्य सस्म्मेलन’ का लागि डोल्पा जिल्ला अस्पतालकी मेडिकल अधिकृत डा. रोजी थपलियाले यो कथा लेख्नुभएको हो ।)
प्रकाशित मितिः २०८१ चैत्र २० गते, बिहान ७ः०३ बजे

