यी हुन् लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका विषय

स्वास्थ्य समाचार

अनु केसी/ नेपाल स्वास्थ्य डटकम
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका १९ वटा बुँदा समेटिएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा “बिरामी होइन स्वस्थ हुने प्रतिस्पर्धा गरौं” भन्ने अभियान, “पूर्ण सुरक्षित मातृत्व सेवायुक्त स्थानीय तह, जिल्ला तथा प्रदेश” अभियानको लागि विशेष कार्यक्रम, ५० शैय्यामा स्तरोन्नति भएका अस्पतालमा गुरुयोजना अनुरुप पूर्वाधार र विशेषज्ञ सेवा विस्तार, ५० शैय्या र सो भन्दा माथिका अस्पतालमा नवजात शिशु सघन उपचार इकाई, ज्येष्ठ नागरिक उपचार (जेरियाट्रीक केयर) व्यवस्था गर्ने लगायतका कार्यक्रम समेटिएको छ ।


हेरौं स्वास्थ्यका विषय:

१. प्रदेशका सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागु गरी गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गरिनेछ। प्रदेशका मेडिकल कलेज, निजी अस्पताल र स्वास्थ्य संस्थाले दुर्गम स्थानमा अनिवार्य स्वास्थ्य सेवा प्रदान गर्ने नीति लिइनेछ।

२. “मेरो स्वास्थ्य स् मेरो जीवन” भन्ने अभियानका साथ स्वस्थकर जीवनशैली प्रवर्धन तथा भान्सा सुधार कार्यक्रम संचालन गरिनेछ। “बिरामी होइन स्वस्थ हुने प्रतिस्पर्धा गरौं” भन्ने अभियान सुरुवात गरी प्रदेशमा बढ्दो नसर्ने रोगको रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखी नागरिक आरोग्य सेवा कार्यक्रम स्थानीय तहसम्म विस्तार गरिनेछ। जनस्वास्थ्यका कार्यक्रमलाई थप प्रभावकारी बनाउन अध्ययन, अनुसन्धान गरिनेछ।

३. प्रदेशमा भएको उच्च मातृ तथा नवजात शिशु मृत्युदरलार्इ कम गर्दै लैजान र दिगो विकास लक्ष्य अनुरुप “पूर्ण सुरक्षित मातृत्व सेवायुक्त स्थानीय तह, जिल्ला तथा प्रदेश” अभियानको लागि विशेष कार्यक्रम संचालन गरिनेछ। गर्भवती महिलालाई एक अस्पतालबाट अर्को सुविधा सम्पन्न अस्पतालमा प्रेषण गर्नुपरेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ। साथै, दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती महिलालाई निःशुल्क हवाई उद्धार गरिने व्यवस्था मिलाइनेछ। महिला सामुदायिक स्वयंसेविकालाई प्रोत्साहन गरिनेछ।

४. सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थामार्फत निस्शुल्क रक्तसञ्चार सेवा उपलब्ध गराइनेछ। प्रदेश अन्तर्गत रहेका एम्बुलेन्सलाई जिपिएस जडान गरी एकीकृत रुपमा सेवा संचालन गरी प्रादेशिक प्रेषण केन्द्रलाई थप प्रभावकारी बनाइनेछ।

५. राप्ती प्रादेशिक अस्पताललाई २०० शैय्यामा स्तरोन्नति गरिनेछ। प्रदेश गौरव आयोजनाको रुपमा रहेका लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई अत्याधुनिक प्रविधियुक्त बनाउन भौतिक पूर्वाधार विकास गरी क्रमशः विशिष्टकृत अस्पतालको रुपमा विस्तार गरिनेछ।

६. ५० शैय्यामा स्तरोन्नति भएका अस्पतालमा गुरुयोजना अनुरुप पूर्वाधार र विशेषज्ञ सेवा विस्तार गर्नुका साथै आकस्मिक स्वास्थ्य सेवा समेत सुदृढ गरिनेछ। दुर्गम स्थानमा विशेषज्ञ एवं शल्यक्रिया सेवा सहित स्वास्थ्य शिविर संचालन गरिनेछ।

७. प्रदेश राजधानीमा प्रस्तावित भालुवाङ्ग अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइनेछ। उक्त अस्पताल सुचारु नहुँदासम्म अस्थायी संरचना निर्माण गरी विशेषज्ञ सेवा संचालन गर्ने व्यवस्था मिलाइनेछ।

८. प्रदेशको जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल, थालेसेमिया र हेमोफिलिया रोगको सचेतना र स्क्रिनिङ्ग प्रदेशमा रहेका ६ वटा स्वास्थ्य कार्यालयबाट र निदान, उपचार तथा प्रेषणको व्यवस्था प्रदेश जनस्वास्थ्य प्रयोगशाला र पृथ्वीचन्द्र, भिम, कपिलवस्तु, भेरी, बर्दिया, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताल तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने व्यवस्था मिलाइनेछ।

९. बढ्दो मृगौला रोगको उपचार व्यवस्था मिलाउन रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, रोल्पा, दाङ र बर्दिया जिल्लास्थित अस्पतालमा डाईलाइसिस सेवा विस्तार गरी आवश्यक पर्ने ईरोथ्रोपोइटिन औषधीमा सहुलियत उपलब्ध गराइनेछ।

१०. पूर्ण ज्योति प्रदेशको नारा सहित नेपाल नेत्रज्योति संघसँगको समन्वयमा आँखाको नानीका कारण ज्योति गुमाएका विपन्नलाई नानी प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्ट) सेवा निःशुल्क हुने व्यवस्था मिलाइनेछ र मातहतका अस्पतालमा क्रमशस् आँखा क्लिनिकको विस्तार गरिनेछ।

११. महामारी तथा विपद् व्यवस्थापन गर्न पूर्व तयारी तथा प्रतिकार्य योजना अनुरुप जिल्ला तथा स्थानीय तहमा भएका संरचनाको क्षमता अभिवृद्धि तथा परिचालन गरिनेछ।

१२. ५० शैय्या र सो भन्दा माथिका अस्पतालमा नवजात शिशु सघन उपचार इकाई, ज्येष्ठ नागरिक उपचार ९जेरियाट्रीक केयर० व्यवस्था मिलाइनेछ।

१३. प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीलाई ५० शैय्यामा स्तरवृद्धि गरी आयुर्वेद स्वास्थ्य केन्द्रमा विपन्न नागरिकलाई अत्यावश्यक आयुर्वेद औषधीको निःशुल्क वितरणको लागि सुविधासम्पन्न आयुर्वेद औषधी उत्पादन केन्द्र संचालनमा ल्याइनेछ।

१४. लुम्बिनी आयुर्वेद चिकित्सालयलाई विशेषज्ञ सेवासहितको १५ शैय्यामा स्तरोन्नति गरी अन्तरङ्ग सेवा संचालनमा निरन्तरता दिइनेछ। आयुर्वेद स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुने अत्यावश्यक आयुर्वेद औषधी बाहेकका गुणस्तरीय औषधीको सहज आपूर्तिका लागि सस्शुल्क फार्मेसी संचालनमा ल्याइनेछ। सबै आयुर्वेद स्वास्थ्य संस्थामा पञ्चकर्म सेवा विस्तार गरिनेछ।
परम्परागत वैकल्पिक उपचार पद्धति संरक्षण गर्न प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमार्फत आवश्यक व्यवस्था मिलाइनेछ।

१५. मुटुको भल्भ प्रत्यारोपण, मृगौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रति व्यक्ति दुई लाख रुपैयाँको सहुलियत र गरिबीको रेखामुनि रहेका नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य रोगमा स्वास्थ्य उपचार सहायतालाई निरन्तरता दिइनेछ।

१६. बढ्दो आत्महत्याको न्यूनीकरण तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याको पहिचान, रोकथाम र उपचारको लागि स्वास्थ्य संस्था र समुदायस्तरमा योग, ध्यान तथा मनोसामाजिक परामर्श लगायतका कार्यक्रम संचालन गरिनेछ।

१७. प्रतिजैविक ‌औषधी प्रतिरोध बारे जनचेतना वृद्धि गरी यसको रोकथाम गर्न कृषि, पशुपालन लगायतका सरोकारवालासँग समन्वय गरी एक स्वास्थ्य नीति कार्यान्वयन गर्दै लगिनेछ।

१८. लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपलब्ध गराइएको निस्शुल्क टिकट र जनरल शैय्या शुल्कलाई निरन्तरता दिइनेछ र विस्तारित स्वास्थ्य सेवा थप गरिनेछ।

१९. स्वास्थ्य सेवालाई थप सहज बनाउन संघ र स्थानीय तहका सरकारी स्वास्थ्य संस्था एवं सामुदायिक स्वास्थ्य संस्थासँग सहकार्य गरिनेछ।


प्रकाशित मितिः २०८० जेठ २९ गते, बिहान ७ः१५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *